विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको ऋण सम्झौतामा हस्ताक्षर


काठमाडौं – नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रस्तावित ऋण सहायताको उपयोगबाट सरकारले लिएको कोभिड–१९ विरुद्धको सर्वव्यापी खोप अभियान विस्तारमा थप सहजता आउनेछ विश्वास लिइएको छ ।

विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । सम्झौता पश्चात विशेष गरेर बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने अर्थ मन्त्रालयका सचिव मरासिनीले बताए । उनले नेपालले १२ वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्धको सुरुवाती साथै बुस्टर मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए ।

त्यस्तै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे । उनले कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपहरूले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्वपूर्ण हुने बताए ।

यस्तै विश्व बैंकले नेपालसँगको साझेदारीलाई निरन्तरता दिदै यस अतिरिक्त वित्तपोषणमार्फत जनसंख्याको ठूलो हिस्सालाई सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउन लागेकोमा निर्देशक फारिसले खुसी व्यक्त गरे । कोरोना भाइरसका नयाँ स्वरूपहरूले आम जनमानसको सुरक्षा र जीविकोपार्जनमा समस्या खडा गर्ने मात्र नभई सार्वजनिक स्वास्थ्य प्रणालीलाई उच्च भार सिर्जना समेत गर्ने सम्भावना रहेकोले पनि यो सहकार्य निकै महत्वपुर्ण रहेको उनको भनाई छ ।

प्रतिक्रिया