सत्तारुढ नेकपाले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो, केही नेता जिम्मेवारीमुक्त बनायो


काठमाडौं– संस्थापन दाबी गरेको नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले कार्यकारी अध्यक्षको जिम्मेवारीबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाएको छ।

विहीबार बालुवाटारमा बसेको उक्त समूहको बैठकले अन्य केही नेताको जिम्मेवारी खोसेर नयाँलाई जिम्मा दिएको छ।

यसअघि प्रदेश १ का इञ्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई जिम्मेवारी तोकिएको छ।

प्रदेश २ मा सत्यनारायण मण्डल छन्। बागमती प्रदेशकी इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इञ्चार्ज छन्।

कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। सुदूर पश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ।

जनवर्गीय संगठनको मोर्चामा जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलले पाएका छन्।

नेकपा विभाजननजिक पुगेपछि एक समूहले अर्को समूहलाई निषेध र कारबाहीको शिलशिला चलाउन थालिएको हो।

प्रतिक्रिया