अझै पनि युक्रेनको सीमामा सेना पठाइरहेछ रुस


एजेन्सी – युक्रेनको सीमाबाट रुसले आफ्नो सैनिक फिर्ता ल्याइरहेको बताइरहेको अवस्थामा अमेरिकी शीर्ष अधिकारीले अहिले पनि रुसले सैनिक पठाइरहेको बताएका छन्। बिहीबार साँझ ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक अधिकारीले पछिल्लो केही दिनमा करिब ७ हजार सैनिक परिचालन गरेको बताएका छन्।

उनले रुसले  कुनै पनि समयमा युक्रेनमा आक्रमण गर्न सक्ने बताएका छन्। उनले त्यसको लागि उसले झुटो बहाना बनाउन सक्ने उनको भनाइ छ। उनले भने, ‘हामीलाई अहिलेसम्म झुटो बहाना कस्तो किसिमको हुन्छ भन्ने थाहा छैन। तर, हामी यो अपेक्षा गर्छौं कि विश्व यसको लागि तयार छ।’ अमेरिकाले यसअघि पनि रुसले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने बताउँदै आएको छ।

पछिल्लो केही समययता रुस–युक्रेनको तनाव उत्कर्षमा पुगेको छ। साथै यी दुईबीच युद्धको आशंका चलिरहेको छ।  यद्यपि युक्रेनले भने अहिलेसम्म रुसले आफ्नो सेना फिर्ता गरेको आफूलाई कुनै जानकारी नभएको उल्लेख गरेको छ।

प्रतिक्रिया