कार्यसमिति सदस्य राईको स्मृतिमा श्रद्धाञ्जलिसभा


काठमाडौं – नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखा कार्यसमिति सदस्य कमलराज राईको १३ औँ दिनको स्मृतिमा आज श्रद्धाञ्जलिसभा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा काठमाडौं शाखाको विकासमा राईले पुर्‍याउनुभएको योगदानको समीक्षा गरिएको छ ।

प्रभाव दैनिकका सम्पादक राईको गत माघ २० गते हृदयघातका कारण ४५ वर्षको उमेरमा निधन भएको थियो । शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिडको सङ्क्रमण फैलिएको समयमा राईले धेरै सञ्चारकर्मीलाई सहयोग उपलब्ध गराएका स्मरण गर्दै राईले पत्रकारिताको माध्यमबाट राष्ट्रको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकाे चर्चा गरे ।

समाजवादी प्रेस सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले सरल र मिलनसार स्वभावका राईले मुलुकको पत्रकारिता क्षेत्रको विकासमा अतुलनीय योगदान गर्नुभएको र उनको निधनले यस क्षेत्रमा ठूलो क्षति भएको बताए । शाखाका सचिव महेश्वर गौतमले सहकर्मी राईको निधनले कार्यसमितिले परिपक्व अभिभावक गुमाएको बताउँदै उनको आदर्शलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए।

कार्यसमितिका सदस्यद्वय रमेश बोहरा, शोभा अर्याल, प्रेस सेन्टरका प्रतिनिधि सागर पन्त, प्रभाव दैनिकका प्रकाशक कृष्णबहादुर कार्कीलगायतले कर्मठ, निष्ठावान युवा पत्रकार राईको निधनले सञ्चार क्षेत्रमा अपूरणीय नोक्सान पुगेको बताउँदै उनको स्मृतिलाई चिरस्थायी बनाउन शाखा संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे । गत चैत २५ गते भएको निर्वाचनमा राईले कार्यसमिति सदस्यमा राईले अत्यधिक मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रतिक्रिया