अटो चलाएर गुजारा


टिस्टुङविश्वभर कोभिड१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उनलाई थप सात महिना बिनापारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन । विदेशमा अलपत्र नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले थाहा नगरपालिका६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो ।

जसोतसो नेपाल फर्किएपछि उनलाई त्यत्तिकै बस्न मन लागेन । आम्दानीको लागि केही त गर्नै प¥यो भन्ने लागेपछि अन्ततः उनले  यात्रुबाहक अटो किनिन् र नगर क्षेत्रमा चलाउन थालिन् । अहिले त्यसैको आम्दानीले घरखर्च चलाउन सकेको उनको भनाइ छ । 

पहिलोपटक वैदेशिक रोजगारीअन्तर्गत ओमानमा दुई वर्ष बसेपछि उनी नेपाल फर्किइन् । नेपाल फर्केपछि उनले नगरमा इन्टरनेट सेवा प्रदायक संस्थामा काम गरिन् । तैपनि उनलाई विदेश मोहले भने छाडेको थिएन । ओमानमा हुँदा प्रवेशाज्ञाको म्याद नसकिँदै बिरामी भएँ, त्यसपछि जसोतसो म्याद गुजारेर नेपाल फर्किएँ, उनले भनिन् ।

नेपाल फर्किएपछि घरटोलमै पाएको रोजगारीबाट सन्तुष्ट हुन नसकेपछि उनी फेरि वैदेशिक रोजगारीका लागि कस्सिइन् र कुवेत पुगिन् । कुवेतमा पुग नपुग दुई वर्ष बस्दा उनी घर फर्किने तयारी गर्दै थिइन् । त्यहीबीच कोभिड१९ को महामारी फैलियो । बन्दाबन्दी घोषणासँगै अन्तरराष्ट्रिय उडान बन्द भए र थप सात महिना कुवेतमै अड्किनु प¥यो । सात महिनासम्म तलब नपाउँदा एकदमै समस्या भएको थियो, त्यसपछि घरबाट झण्डै रु एक लाख झिकाएर नेपाल फर्किएँ, महर्जनले सुनाइन् ।

महर्जनले अटो किनेर चलाउन थालेको धेरै दिन भएको छैन । केही दिनअघि मात्रै उनले अटो किनेकी थिइन् । अटो चलाउन थालेपछि अहिले उनको दैनिकी फेरिएको छ । बिहान उठ्नेबित्तिकै उनको अटो यात्रा शुरु हुन्छ । धेरैजसो थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रमा चल्ने अटो यात्रुको मागअनुसार दामन, पालुङ, टिस्टुङ, चित्लाङ र इन्द्रसरोवरको मार्खु क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ । अटो किनेर ठीकै गरेछु भन्ने लागेको छ, खाली बस्नु परेको छैन, उनी भन्छिन्, ‘अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर रु एक हजार जोगिने गरेको छ । थाहा नगरपालिकामा अहिले करीब डेढ सय अटो सञ्चालनमा छन् । तीमध्येमा हाल महिला चालक महर्जन मात्र छिन् ।

(रासस)

प्रतिक्रिया