म्यानमारमा सैन्य ‘कु’ को एक वर्ष पूरा – आठ सयभन्दा धेरै कैदीबन्दी रिहा


एजेन्सी – म्यानमारमा सेनाले ‘कु’ गरी सत्ता सम्हालेको एक वर्ष पूरा भएको छ । सैन्य सरकारले सत्ता सम्हालेको एक वर्ष पूरा भएको अवसरमा जुन्ता सरकारले आठ सयभन्दा धेरै कैदीबन्दीलाई आममाफीको घोषणा गरेको छ ।

जुन्ता प्रमुख मिन आङ हलिङले ८ सय १४ कैदीका लागि माफीको आदेश जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ । आममाफी पाउनेमा ७ जना विदेशी पनि छन् । देशको सङ्घीय स्वतन्त्रता दिवसका अवसरमा सैन्य सरकारले राजधानीमा परेड तथा प्रदर्शन गरेको छ ।

गएको वर्षको सैन्य ‘कु’ देखि नै म्यानमारमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । यो बीचमा प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार पाँच सयभन्दा धेरै नागरिकले ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जनाएको छ ।

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी नेतृत्वको सरकारलाई गएको वर्ष फेब्रुअरी एकमा सेनाले ‘कु’ गरी हटाएको थियो । साथै गएको मंसिरमा सुकीलाई सेनाको अदालतले चार वर्षको जेल सजाय समेत सुनाएको थियो ।

प्रतिक्रिया