रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो


रसुवा – उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो । विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् ।

परम्परागतरूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ चिन्ता छाएको छ । पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त तातोपानीको मूल सुकेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणसमेत घटेको छ । विशेषगरी प्रत्येक वर्ष कात्तिक र चैतमा नुहाउँदा शारीरिक रोग हट्ने मान्यता रहिआएको थियो ।

पानी पुनः फर्किएयता करिब १० हजार मानिसले नुहाइसकेका थिए । तातोपानीलाई व्यवस्थितरूपले उपयोग गर्न तत्कालीन समयमा कार्यरत ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी) मार्फत निर्माण भएका आकर्षक ढुङ्गेधारा तथा पोखरी अलपत्र परेका छन् । प्राकृतिक स्रोतका अधिकतम् उपयोग गराइ तातोपानी क्षेत्रका विपन्न व्यक्तिलाई उत्थान गर्न विसं २०५७ मै पूर्वाधार निर्माण भएको र यस्ता सामाजिक  कार्यमा  पर्यटन विज्ञ रामचन्द्र सेढाईँको अविस्मरणीय योगदान रहेको स्थानीय बासिन्दाले स्मरण गरे ।

प्रतिक्रिया