प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता : गठबन्धन टुट्ला कि अघि बढ्ला ?


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार छलफल भएको छ। बुधबार साँझ ५ बजेपछि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।

अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि बुधबार का लागि बोलाएको संसद बैठक स्थगित गर्न बाध्य भएका थिए।

दुई नेताबीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको दुई दिनपछि दुई नेताबीच भेट भएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा बुधबार छलफल गरेका थिए ।

देउवाले सत्ता गठबन्धनमा छलफल नगरी स्थानीय तहको मिति घोषणा गरेको भन्दै असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

नेपाली कांग्रेसलाई गठबन्धन छोड्न तीव्र दबाब छ । एकल रुपमा कांग्रेसले चुनाव जित्ने अवस्था हुँदा हुँदै गठबन्धन नगर्न आफ्नै नेताबाट दबाब खेपिरहेका प्रधानमन्त्री देउवाले बुधबार माओवादी अध्यक्ष प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

 

प्रतिक्रिया