नगरपालिकाको हाकिम बन्न शिक्षा संयोजक गुप्ता मन्त्रालय धाउँदै


रौतहट – रौतहटस्थित विभिन्न सरकारी सेवामा रहेर अकुत सम्पत्ति जोड्न सफल नन्दकिशोर गुप्ता स्थानीय तहको निमित्त प्रमुख अर्थात हाकिम बन्न मन्त्रालय धाउन थालेका छन्।

इशनाथ नगरपालिकाका नगर शिक्षा संयोजक गुप्ता इशनाथकै हाकिम बन्न कहिले मधेस प्रदेशको राजधानी जनकपुरदेखि काठमाडौंसम्म धाइरहेका छन्।

पछिल्लो केही दिनदेखि उनी सिंहदरवारस्थित संघीय सामान्य प्रशासन मन्त्रालयको चक्कर लगाइरहेका स्रोतको दाबी छ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय गौरमा विधालय निरीक्षक पदमा रहेर गैरकानुनी शिक्षक नियुक्तिदेखि अनेक जालझेल गरि करोडौंको सम्पत्ति जोडेका गुप्ता अहिले पालिकाको हाकिम बन्न मरिहत्ते गरेका छन्।

जिल्ला शिक्षा कार्यालय रौतहटमा अनियमितता गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धानले गुप्तालाई केही महिनाको लागि निलम्बन समेत गरेको थियो।

जसपाका एक नेतालाई साथमा लिएर नगर शिक्षा संयोजक नन्दकिशोर गुप्ता इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव हिम बहादुर भुजेलको सरुवा गराई उनकै स्थानमा आउन सामान्य प्रशासन मन्त्रालयमा हिमचिम बढाएका हुन्।

इशनाथ नगरपालिकामा निमित्त प्रमुख बन्न मन्त्रालयमा लाखौं रुपैयाँ दिएर तीनजना कर्मचारीले हानथाप गर्न थालेपछि मन्त्रालयका सचिव सुरेश अधिकारीको निर्देशनमा त्यहाँ उपसचिव भुजेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पुस २० गते पठाइएको थियो।

भुजेल प्रमुख प्रशासकीय अधिकृत भएर इशनाथ नगरपालिकामा हाजिर भएको १ महिना नबित्दै उनको सरुवा गराउन गठबन्धनकै केही नेता लागिरहेको देखिएको छ।

स्रोतका अनुसार यसअघि केही समयका लागि फतुवा विजयपुर र इशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेर विभिन्न शीर्षकमा लाखौं रुपैयाँ कुमल्याउन सफल गुप्ता अहिले सामान्य प्रशासनमन्त्रीलाई रिझाउन जसपाका एकजना नेतामार्फत रकमी चलखेलदेखि अनेक हतकण्डा प्रयोग गरिरहेका छन्।

शिक्षा संयोजक गुप्ता आफ्नो जिम्मेवारी पूरा नगरी सधैँ विभिन्न पालिकाको हाकिम बनेर अवैध तरिकाले रकम कमाउने दाउमै रहने गरेको इशनाथ नगरपालिकाका कर्मचारीहरुले गुनासो गरेका छन्।

इशनाथ नगर क्षेत्रभित्रै घर भएका गुप्ता स्थानीय केहि नेताहरूलाई प्रभावमा पारेर पटकपटक नगरपालिकामा अनेक विवाद गराउँदै आएको स्वंय जनप्रतिनिधिहरुले स्वीकार गरेका छन्।

यसअघि इशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा गुप्ताले सूचना लुकाएको भन्दै राष्ट्रिय सूचना आयोगले साढे ७ हजार रुपैयाँ जरिवाना गरेको थियो।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा जनप्रतिनिधिको अवधि समाप्त हुनलाग्दा लाखौं खर्च गरेर शिक्षा संयोजक गुप्ता हाकिम भएर नगरपालिकामा मनोमानी ढंगले आर्थिक अनियमितता गर्ने दाउमा रहेको स्रोतको दाबी छ।

पछिल्लो केही समय देखि मधेस प्रदेशका एकजना जसपाका राज्यमन्त्रीले १० लाख रुपैयाँ लिएर प्रदेशैभरिको अधिकांश पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको पद बाँडेका छन्।

प्रतिक्रिया