

भूपु गोर्खाहरूको समस्या समाधानका निम्ति सरकार गैरजिम्मेवार

काठमाडौं – भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएको सांसदहरुले बताएका छन्। सोमबार सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले भूपू गोर्खाहरुको समस्या समाधानका निम्ति सरकार जिम्मेवार नभएको बताएका हुन्।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि पटक–पटक समस्या समाधानका निम्ति सरकारलाई अग्रसरता लिन आग्रह गरेको भएपनि सरकारले वेवास्ता गरेको सांसदहरुको आरोप छ । बैठकमा बोल्दै सांसद भीम रावलले बेलायत सरकारसँग नेपाल सरकारले के कारणले कुरा गर्न नसकेको हो परराष्ट्र मन्त्रीले जवाफ दिनुपर्ने बताए।
समितिले पटक पटक निर्देश गर्दापनि सरकारको तर्फबाट कुनै काम हुन नसकेको उनले उल्लेख गरे । भूतपूर्व गोर्खाहरुको माग बमोजिम सरकारले तुरन्त उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायती सरकारसँग कुरा गर्नुपर्ने आफुहरुको धारणा रहेको उनले बताए।
सांसद रेनुका गुरुङले बेलायत सरकारले भूपू ब्रिटिश गोर्खालाई न्यून ज्यालामा सिंगापुर र ब्रुनाईको सेवामा खटाएको सम्बन्धमा परराष्ट्र मन्त्रालयको धारणा माग गरिन् । नेपाल र बेलायतबिचको सन्धी पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ ।
सांसद दिपक प्रकाश भट्टले सरकारले राष्ट्रिय हितलाई अगाडी राखेर कुरा गर्न नसकेको बताए । वार्ता समिति गठन गरेर वार्ता समेत गर्न नसकेको उनको भनाई छ । समितिमा पुनः सम्बन्धित मन्त्रीलाई बोलाएर भूपू गोर्खाको समस्या समाधानको सम्बन्धमा छलफल गर्नुपर्ने उनले उल्लेख गरे।
पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालले भूतपूर्व गोर्खा सैनिकको विषयलाई उच्चतम प्राथमिकता दिनुपर्ने बताए। जुन देशसँग सम्झौता भएको हो सो देशले नेपालीहरु अन्य देशमा पठाउने कुराको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

