एमसिसी प्रकरणः एमाले पर्ख र हेरको अवस्थामा किन ?

गठबन्धनको समान धारणा आएपछि मात्र निर्णय गर्ने एमालेको दाउ


काठमाडौं आइतबार केही समयको अन्तरालमा एमसिसीको विषयमा सार्वजनिक दुई पत्रले नेपाली राजनीति तातेको छ । सत्ता गठबन्धनमा समेत यसले थप अविश्वासको वातावरण सिर्जना गरेको छ ।

एमसिसी टुंगो लगाउन अमेरिकाले दबाब दिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमसिसीलाई लेखेको पत्रले नेताहरुको दोहोरो भूमिकालाई स्पष्ट गरेको छ । प्रमुख तीन दलबीच संवादको थालनी भए पनि आन्तरिक दाउपेच भने सबैको भिन्न भएको पुष्टी भएको छ ।

यता लगातार संसद् अवरोधमा रहेको एमाले पनि एमसिसीलाई संसद्मा टेबल गर्नुपर्ने माग राख्दै आएको छ । एमाले अहिले गठबन्धनलाई समान धारणा बनाउन दबाद दिँदै आएको छ । गठबन्धनको समान धारणा नआएसम्म कुनै निर्णय दिन नसकिने एमाले महासचिव शंकर पोखरेलले बताए । प्रधानमन्त्री देउवाले एमसिसी अनुमोदन गर्न सहयोगका लागि एमालेलाई आग्रह गर्दै आएका छन् भने माओवादी अध्यक्ष दाहाल प्रतिपक्षको समेत सहयोगमा एमसिसीलाई चुनाव पछिसम्म लैजाने पक्षमा देखिएका छन् । सत्तागठबन्धनमा नै एमसिसीप्रति समान र स्पष्ट धारणा नआएपछि एमाले पर्ख र हेरको अवस्थामा छ । सत्तापक्षबाटै राष्ट्रिय मुद्दामा अलगअलग राय प्रकट गर्ने कुरा संसदीय र लोकतन्त्रका लागि उपयुक्त भन्दै एमालेले आलोचना समेत गरेको छ । महासचिव पोखरेलका अनुसार गठबन्धन नै अन्यौलमा भए एमसिसीको विषयमा प्रतिपक्षले स्पष्ट निर्णय दिन नसक्ने भएको हो ।

गठबन्धनका दलहरुको समान धारणा आए पनि एमाले ह्वीप नलगाई एमसिसी अनुमोदनका लागि सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने पक्षमा छ । सांसदलाई स्वतन्त्र छाड्ने प्रबल सम्भावना रहेको बताइएको छ ।

यसरी एमाले एमसिसीको विपक्षमा उभिएको जस्तो गरेर पास गर्न आवश्यक पर्ने संख्याले पक्षमा मतदान गर्न सक्छ । एमसिसी मुद्दा निर्णायक चरणतिर प्रवेश गरेपछि संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमाले पनि सत्ता गठबन्धनसँग संवादमा जोडिनुले यस्तो संकेत गरेको हो । पटकपटक संसद् अवरोध गरिरहेको र प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकमा समेत सहभागी नभएको एमाले एमसिसीको विषयमा छलफल गर्न भने सहभागी भएको हो ।

यसअघि आफै ओली प्रधानमन्त्री हुँदा उनले एमसिसीलाई टेबल गर्न खोजेका थिए । सरकारबाट बाहिरिए पछि एमसिसी र एमालेको बैचारिक दुरी केही बढेको थियो । प्रधानमन्त्री देउवा एमसिसीप्रति दृढ देखिएपछि सत्तागठबन्धनलाई तरंगीत पार्न एमाले एमसिसीसँग फेरी नजिक भएको छ ।

प्रतिक्रिया