भारी हिमपातले बस्न नसकेपछि हिउँमा फसेकालाई खानेकुरा छोडेर फर्कियो हेलिकप्टर


जुम्ला – जुम्लाकाे गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेकाहरूलाई खानेकुरा छाेडेर नेपाली सेनाकाे हेलिकप्टर फर्किएको छ । हिउँमा ३६ जना मानिस फसेका सेनाले जनाएकाे छ ।

कर्णाली प्रदेश सरकाले सुर्खेतबाट पठाएको हेलिकप्टरले हिउँका कारण तीन ठाउँमा फसेका नागरिकहरूलाई खानेकुरा छाडेर फर्किएको हाे ।नन्द वक्स गण जुम्लाका गणपति रविन थापाले हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हाे ।

उनका अनुसार तातोपानी गाउँपालिका ८ मा रहेका गाग्रा, ऐडी ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो ।स्थानीयवासी सुरतबहादुर शाहीसहितकाे टाेली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएकाे थियाे ।

जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले हिउँमा फसेकाहरू सुरक्षित रहेकाे र उनीहरूकाे उद्धारका लागि गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भइरहेकाे बताए ।

हेलिकप्टरमा लगिएका खानेकुरा उनीहरूले प्राप्त गरेका र भारी हिमपातले भने हेलिकप्टर बस्न नसकेकाे उनले जानकारी दिए। हिउँमा फसेकाहरू सेतक चिनी (खिरौँला) कोर्न पाटन गएका थिए । त्यही क्रममा हिउँ परेपछि उनीहरू फसेका थिए ।

प्रतिक्रिया