जिप दुर्घटना : घाइतेलाई बुटवल ल्याइँदै, उपचारमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन


बुटवल – प्यूठानमा जन्ती बोकेको जिप दुर्घटनामा परी घाइते भएकाहरूलाई बुटवल ल्याइँदै छ। घाइते नौबहिनी गाउँपालिका ६ बस्ने २५ वर्षीय दान बहादुर खड्का,सोही ठाउँ बस्ने २० वर्षीया रिमा जिसी, १७ वर्षीय नरेश खड्का,२१ वर्षीय हरी बुढा मगर र २५ वर्षीया सावित्रा जिसीलाई उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

घटनाप्रति लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले दुःख व्यक्त गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरी उनले मृतकहरूप्रति श्रद्धान्जलि दिए। उनले घाइतेहरूको उपचार र उद्धारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।

मुख्यमन्त्री केसीले घाइतेहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधिलाई धन्यवाद दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जिप ओखरपाटामा दुर्घटना भएको हो। कच्ची सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ। जिप सडकदेखि तीन सय मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक गौमुखी गाउँपालिका-६ बस्ने ५० वर्षीय बल बहादुर बुढा, सोही ठाउँका ४९ वर्षीय वसन्त खड्का, ११ वर्षीया एलिसा खड्का, ४० वर्षीया वसन्ती खड्का, २९ वर्षीय केशरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका-६ बस्ने १८ वर्षीया विपना जीसी रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया