धोविखोला करिडोर अतिक्रमण गर्नेलाई कारबाही हुन्छ : मन्त्री झाँक्री


काठमाडाैं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन्। सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैँ सो करिडोरको अनुगमनमा गएकी हुन्।

सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेबल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो। मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताइन्।

अब पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने उनले बताइन्। उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ। तर सो ऐन विपरित सडक अतिक्रमण गर्नेहरुलाई अव कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ।

मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई  निर्देशन दिइन्। उनले भनिन्, ‘आज विदाकै दिन भएपनि उहाँहरुलाई सचेत गराऔँ भनेर अनुगमनमा आएका छौँ। अतिक्रमण नगर्नुस् भनेर माइकिङ गर्नेलगायतका काम गर्दै आएका छौँ। तर उहाँहरुले मान्नु भएन र आज सचेत गराएका छौँ। उहाँहरुलाई आफ्नो सामान निकाल्नुस् भनेका छौँ। त्यसपछि पनि मान्नु भएन भने कानुन बमोजिम कारबाही पनि हुन्छ। अनुगमन त भई नै रहन्छ। किनभने उपत्यका विकास प्राधिकरणलाई अनुगमन गर्ने अथोरिटी पनि छ। हामी अनुगमन निरन्तर गर्छौँ।’

मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो।

प्रतिक्रिया