
एमसीसी पास गर्नैपर्ने जिकिरमा बाबुराम भट्टराई
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनैपर्ने जिकिर गरिरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत निरन्तर एमसीसी पास गराउन दबाब दिइरहेका हुन्। हरेक दिनजसो उनले एमसीसीका पक्षमा लेखिरहेका छन्।
यसै क्रममा मंगलबार राति पनि उनले एमसीसी सम्झौताप्रति जनस्तरमा ठूलो आशंका र भ्रम रहेको उल्लेख गर्दै सरकारलाई मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल डेभलपमेन्ट बोर्डमार्फत एमसीसी सम्झौताका सबै दस्तावेज नेपाली र सबै प्रमुख राष्ट्रिय भाषामा अनुवाद गरेर हरेक नागरिकलाई निःशुल्क बाँड्न आग्रह गरेका छन्।
‘एमसीसी सम्झौताबारे जनस्तरमा दूरदराजका गाउँगाउँसम्म ठूलो आशंका, भ्रम व्याप्त रहेकाले नेपाल सरकारले @MCA_Nepal (मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल डेभलपमेन्ट बोर्ड) मार्फत नेपाली र सबै प्रमुख राष्ट्रिय भाषामा सम्झौताका सबै दस्तावेज/पत्र अनुवाद गरेर स्थानीय सरकारमार्फत निःशुल्क जनतामा बाँड्नु उपयुक्त होला’, भट्टराईले भनेका छन्, ‘नत्र शंकाले लंका खाने भो!’



कागजपत्र |
