

नेकपा केन्द्रीय समिति बैठक दुईतिर, गौतम–थापा कोही न कोहीतिर

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक विभाजनको टकराबमा लागेको छ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय समितिको बैठक डाकेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले कार्की पार्टी प्यालेसमा मंगलबार १ बजेका लागि केन्द्रीय समिति डाकेका छन्।
प्रथम अध्यक्ष तथा संसदीय दलको नेता भएका कारण आफूले बोलाएको बैठक आधिकारिक हुने ओलीको ठहर छ भने स्थायी समितिको बैठकले नै तोकेका कारण प्रचण्ड–नेपाल समूहले बोलाएको बैठक आधिकारिक भएको दाबी गरिएको छ। प्रतिनिधि सभा भंगपछि नेकपाको आन्तरिक विवाद थप उत्कर्समा पुग्नुका साथै राजनीतिले कोल्टे फेरेको छ।
यसैबीच नेकपाका दुवै केन्द्रीय समिति बैठकमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल पक्षधर नेता सहभागी नहुने भएका छन्। पार्टी अझै विभाजनबाट जोगिने ठाउँ रहेको भन्दै गौतम र थापा पक्षधरले दुवै केन्द्रीय समितिका बैठकलाई गुटको भेला भन्दै सहभागीता नजनाउने जनाएका हुन्।
यसैबीच, आजै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको पनि केन्द्रीय समितिको बैठक बस्दैछन्। सदन विघटनविरुद्ध साझा धारणा बनाउनका लागि केन्द्रीय समितिका बैठक बस्न लागेका हुन्। हिजो नेकपाका प्रचण्ड–नेपाललगायत कांग्रेस र जसपाका नेताको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध साझा धारणा बनाउने तथा दुई सय सांसद लिएर सर्वोच्च अदालतमा जाने समझदारी गरेका छन्।
संसद पुनस्थापनाका लागि अदालतलाई दबाब दिन लागिएको हो। पुनस्थापनाका लागि सदन विघटनविरुद्ध सर्वोच्चमा १३ रिट छन्। आज पनि थपिन सक्ने बताइएको छ। सबै रिटको सुनुवाई भोलीका लागि तोकिएको छ।

