एमसिसी बहसः कुन दलको धारणा के ?

कांग्रेस र जसपा पास गर्ने; एमाले, माओवादी र एकीकृत संशाेधनसहित पास र नेमकिपा 'पस्नै नदिने' पक्षमा


काठमाडौं – एमसिसीका विषयमा राजनीतिक दलहरुले फरक–फरक धारणा राखेका छन् । पाँचदलीय गठबन्धन भित्र समेत एमसिसीको विषयमा फरक मत देखिएको छ । एमाले भने अलमलमै छ । सरकारलाई अमेरिकाले एमसिसी चाँडो टेबल गर्न दबाब दिईरहेको छ । यस्तो अवस्थामा सत्तारुढ दलहरुको फरक–फरक धारणा बनेपछि गठबन्धनको भविष्यमाथि नै प्रश्न उठेको छ ।

सरकारमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसिसीको पक्षमा खुलेर लागेका छन् । माओवादी र एकीकृत समाजवादी एमसिसी परिमार्जन नभए पारित नगर्ने पक्षमा छन् । राष्ट्रिय जनमोर्चा संसद् पनि एमसिसीको खुलेर विरोध गरिरहेको छ ।

एमालेः यथास्थितिमा पास नगर्ने 

संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले एमसिसीको पक्षमा स्पष्ट भएको छैन । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको बताए । एमसिसीमा रहेका आपत्तीजनक बुँदाहरु संशोधन गरिए एमसिसी पारित हुने भट्टराईले बताए ।

‘एमसिसीको लेखापरिक्षण गर्ने अधिकार नेपाललाई हुनुपर्छ, तर एमसिसीको बुँदामा त्यसको अधिकार अमेरिकालाई हुनुपर्छ भनिएको छ । नेपालको संविधानभन्दा माथी एमसिसी होईन । नेपालको राष्ट्रिय हितभन्दा बाहिरको कुराहरुमा सहमती कुनै हालतमा हुन सक्दैन,’ उनले भने ।

कांग्रेसः जतिसक्दो छिटो पास गर्ने 

सत्तारुढ नेपाली कांग्रेस एमसिसी पास गर्न अहिले अन्य राजनीतिम दलहरुसँग वार्ता गरिरहेको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मिन बहादुर बिश्वकर्माले कूनै हालतमा पनि एमसिसी पास हुने बताए । उनले अरु विकल्प नै नभएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका सांसद विश्वकर्माले सत्तापक्षले सरकारलाई एमसिसी पास गर्न असफल पार्ने षडयन्त्र भईरहेको बताए ।

‘अहिले सत्तापक्ष र प्रतिपक्षसँग सरकारले एमसिसीका विषयमा वार्ता गरिरहेको छ, एमालेले ग्रिन सिंग्नल दिए पनि सत्तासाझेदारहरुले नै षडयन्त्र गर्लान् भन्ने डर देखिएको छ । यदी त्यसो भयो भने गठबन्धन फेल हुन्छ,’ विश्वकर्माले भने ।

विश्वकर्माले एमसिसीबाट नेपाललाई प्रतिकूल प्रभाव पर्ने कुनै पनि कारण नहेको बताउँदै जतिसक्दे छिटो पास गरेर निर्वाचनहरूमा अगाडि बढ्नुपर्ने बताए ।  ‘एमसिसीमा संशोधन गर्नुपर्ने केही छैन, हुँदैन पनि । एमसिसीलाई बेक्कारमा बहसको विषय बनाएका छन् । एमसिसी नेपालको हितमा नै छ । यथास्थितीमा एमसिसी पास हुन्छ,’ उनले भने ।

माओवादी केन्द्रः यथास्थितिमा पास हुन नसक्ने

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले यथास्थितीमा एमसिसी पास हुन नसक्ने दावी गरे । उनले भने, ‘एमसिसीको बहस गर्दा हामी गठबन्धन, कांग्रेस, अमेरिका कसैलाई चिन्दैनांै, हामी नेपाललाई मात्र चिन्छौं । एमसिसी नेपालको पक्षमा छैन, त्यसैले आपत्तीजनक बुँदाहरु संशोधन गरियो भने पास हुन्छ, नत्र हामी पास हुन दिन्नौं ।’

माओवादी सुरु देखि नै एमसिसीको बिरोधमा रहेको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘एमसिसीको बिरोध गर्दा गठबन्धन खतरामा परे पनि त्यो सहन्छौं, तर यथास्थितीमा एमसिसी पारित भएको सहन्नौं ।’

नेकपा एकीकृत समाजवादीः नेपालको हितमा छैन

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणी चौधरीले एमसिसी नेपालको हितमा नरहेको बताएका छन् । नेपालको कानूनभन्दा माथि रहने एमसिसी देशको हितमा हुन नसक्ने चौधरीले बताए ।

चौधरीले भने, ‘एमसिसीमा धेरै बुँदाहरु आपत्तीजनक छन् । संशोधन नगरेरै हाम्रो पार्टी एमसिसी पास गर्ने पक्षमा छैन । कसैले पनि यथास्थितीमा एमसिसी पास गर्न खोज्यो भने राष्ट्रघात ठहरिनेछ ।’

एमसिसी परिमार्जन गरेर मात्रै संसद्मा पेस गर्नुपर्ने एकीकृत समाजवादीको माग रहेको सांसद चौधरी बताए । प्रधानमन्त्रीले यथास्थितीमा एमसिसी पास गर्न खोजे गठबन्धन समेत खतरामा पर्ने उनको दावी छ ।

जसपाः  संसदमा आए पारित गर्न सघाउने

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत अरू नेताहरू पनि यसको पक्षमा खुलेरै लागेका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत् एमसिसी नेपालको हितमा रहेको हुनाले जतिसक्दो छिटो पास गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

डा. भट्टराई सामाजिक सञ्जालमा एमसिसीको पक्षमा सक्रिय रुपमा लागेका छन् । जसपा एमसिसी संसदमा आए पारित गर्न सघाउने पक्षमा देखिएको हो ।

नेमकिपाः कुनै पनि हालतमा पास गर्नु हुँदैन

नेपाल मजदुर किसान पार्टीले भने एमसिसीको पूर्ण विरोध गरेको छ । पार्टी अध्यक्ष नारायणमान विजुक्छेले नेपालमा कुनै पनि हालतमा एमसिसी पारित गर्न नहुने बताएका छन् । पछिल्लो समय एमसिसीको विरोध गर्दै पार्टीले सडकबाटै आन्दोलन  गरिरहेको छ ।

प्रतिक्रिया