राष्ट्रसंघको बैठकमा अमेरिका र रुसबीच चर्काचर्की


एजेन्सी – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठमा अमेरिका र रुसका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ। अमेरिकाले युक्रेनको सीमामा रुसले सेना परिचालन गरेपछिको अवस्थाबारे छलफलका लागि भन्दै सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह गरेको थियो।

सोमबार भएको बैठकमा राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालन पछिल्लो केही दशकमा देखिएको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्।

यसको जवाफमा रुसी समकक्षी भासिली नेबेन्ज्यालले अमेरिकाले रुसविरुद्ध घृणा पैदा गर्ने काम गरिरहेको र रुसको आन्तरिक मामिलामा अमेरिकाको हस्तक्षेप स्वीकार्य नहुने बताए।

अमेरिका र बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरे थप प्रतिबन्ध लगाइने घोषणा गरिसकेका छन्। रुसले करिब १ लाख सैनिक युक्रेनको सीमामा परिचालन गरेको छ।

राष्ट्रसंघको लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्ज्याले रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्छ भन्ने कुनै प्रमाण नरहेको र सैन्य परिचालन गरिएको आरोप अझैसम्म पनि राष्ट्रसंघले पुष्टि नगरेको बताए।

उनले आफ्नो भूमिका अक्सर गरेर सेना परिचालन हुने गरेको र यो अमेरिकाको चासोको विषय नभएको उल्लेख गरे।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले तनाव बढाउने र हाउगुजी फैलाउने काम गरेको उनको आरोप छ।

उनले भने, ‘यो हाम्रो देशको आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेप मात्र होइन, यो अन्तर्राष्ट्रिय समुदायलाई यहाँको वास्तविक अवस्थाको बारेमा गलत सन्देश दिने र अहिलेको विश्वव्यापी तनावको एक कारण पनि हो।’

प्रतिक्रिया