
ल्होछारमा गाउँपालिकाले दिए ३ दिन बिदा
काठमाडाैँ – तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेपलाञ्चोकका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
जिल्लाका रोशी र तेमाल गाउँपालिकाले २८५८औं सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) का अवसरमा यही माघ १८, १९ र २० गते ३ दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, संघसंस्था र बैंक तथा वित्तीय संस्थामा बिदा दिने निर्णय गरेका हुन्।
तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारका दिन १९ गते परेकाले यसको एक दिनअघि र एक दिनपछि गरी ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए।
‘विगत वर्ष झैँ यस वर्ष पनि ल्होछारका अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गत सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहनेछन्’, अध्यक्ष लामाले भने, ‘तामाङ समुदायको बाहुल्य रहेको पालिकाभित्र संविधानले दिएको अधिकारको प्रयोग गरी तीन दिनसम्म सार्वजनिक बिदा दिँदै आएका छौँ।’ त्यस्तै तेमाल गाउँपालिकाले पनि ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सलाम सिंह लामाले बताए।
माघ १३ गतेको निर्णयअनुसार ल्होछारका अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गतका सबै कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, संघसंस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने उनले बताए।
यस वर्षको तामाङ समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्व २८५८औं सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) यही माघ १९ गते परेको छ। तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाउने गर्छन्। तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ हो। त्यसैले ‘ल्होछार’को अर्थ नयाँ वर्ष हुन्छ।
चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ। ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ।



कागजपत्र |
