

कर्णालीको विकासमा सरकारलाई साथ दिन एमाले तयारः कँडेल

सुर्खेत – कर्णाली प्रदेशको समग्र विकासमा सरकारसँग हातमा हात मिलाएर हिड्न एमाले तयार रहेको संसदीय दलका नेता यामलाल कँडेलले बताएका छन् । आईतबार कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै उनले सरकारले थालेका राम्रा काममा साथ दिन एमाले तयार रहेको प्रष्ट पारे ।
‘प्रदेशमा सुशासनको कुरामा, कर्णालीको विकासको कुरामा एमाले सरकारलाई सहयोग गर्दै आएको छ । तर, यसको फाईदा उठाएर, सरकारले एकलौटी गरेर, जनतालाई भ्रममा पार्ने काम भने गर्नुभएन’, कँडेलले भने ।
सरकारले टुक्रे योजनाहरु निर्माण गरेर कार्यकर्ता पाल्न खोजेको नेता कँडेलको आरोप छ । उनले टुक्रे योजनाहरुले कर्णालीको विकास गर्न नसकिने भन्दै यस्ता योजनाहरु तत्काल खारेज गर्नुपर्ने माग राखे ।
‘एक लाख, दुई लाखका योजना बनाएर विकास गर्छु भन्ने सोच सरकारले त्याग्नुपर्छ । गतिलो योजना सरकारले ल्यायो भने एमाले साथ दिन तयार छ । दुई लाख तीन लाखका हजारौं योजना बनाएर बजेटको दुरुपयोग गरिँदै छ, यस्तो कार्य रोक्नुपर्छ’, नेता कँडेलले भने ।

