२० जिल्लाका प्रजिअलाई गृहमन्त्रीको फोन


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शित लहरको अवस्था र सरकारले गरिव र अशंक्तलाई तराईमा शित लहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।

शनिबार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, डडेलधुराका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग टेलिफोन वार्ता गरेका हुन् ।

त्यस्तै मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसँग पनि टेलिफोन वार्ता गरे ।

त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरनजीवी राना, लमजुङकका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र पर्वतका प्रमुख जिल्ला अधिकारी पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शित लहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिव र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे समेत जानकारी लिए ।

सरकारले गत मंसिर एक गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शित लहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कत्तिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका हुन् ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी तामाङले गृहमन्त्री खाणले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए । ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा मुख्यगरी जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरुद्धको खोप र शित लहरबारे जानकारी लिनुभयो,’ प्रजिअ तामाङले भने ।

त्यस्तै सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिए । इलामका प्रजिअ ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए ।

गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैशीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए ।

प्रतिक्रिया