मोरङको उखुबारीमा भेटिएको दुई शवमध्ये एकको पहिचान खुल्यो, गाउँलेहरु त्रसित

पहिचान खुलेका श्रेष्ठ मंसिर पहिलो साता व्यवहार मिलाउने भन्दै धरान गएका थिए


काठमाडौं – मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डो खनेर पुरिएका दुईवटा शवमध्ये एउटा शवको पहिचान खुलेको छ। पहिचान खुलेकामध्ये धरान–३ घर भई हाल सपरिवार भक्तपुरमा बस्दै आएका ४९ बर्षीय राजेन्द्रकुमार श्रेष्ठ भएको मोरङ प्रहरीले जनाएको छ।

मृतक श्रेष्ठ करिब डेढ दशकदेखि भक्तपुरमा नै बस्दै आएका थिए। उनको घर धरान–३ स्थित कैलाश पथमा पर्छ। उनी इन्द्रकुमार श्रेष्ठका कान्छा छोरा हुन्। हाल धरान–३ मा रहेको उक्त घर भने भाडामा दिइएको छ। धरानमा रहँदा सुनको पसल थियो। उनी भक्तपुर गएपछि जापान पनि गएको र फर्किए पछि जग्गाको कारोबार पनि गर्दै आएका थिए भने इलेक्ट्रोनिक पसल पनि खोलेका थिए।

मृतकको श्रीमती, दुई छोरा र १ छोरी छन्। परिवारका सदस्यहरुको भनाइ अनुसार उनको झापामा रहेको प्लटिङमा साथीहरुसँग व्यवहार बिग्रेको थियो। उनी गएको मंसिर पहिलो साता नै व्यवहार मिलाउने भन्दै धरान गएका थिए। उनै श्रेष्ठको शव प्रहरीले बिहिबार उखुबारीमा गाडेको अवस्थामा फेला पारेको हो।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जर्नादन जिसीका अनुसार श्रेष्ठको एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको छ। उनका अनुसार शवको साथमा भेटिएको कागजातबाट पहिचान खुलेको हो। घरबाट गत मङ्सिर ४ मा काठमाडौबाट पूर्व गएपछि उनी सम्पर्कविहीन भएको परिवारले बताएको छ।

यस्तै श्रेष्ठको शव भेटिएको ठाउँदेखि ३० मिटर दुरीमा अर्काे शव भेटिए पनि पहिचान हुन नसकेको एसपी जिसीले जानकारी दिए। जहाँ कपडा र कपाल थियो। पहिचान नखुलेको शव भने बुधबार राती भेटिएको थियो। उखु काट्ने क्रममा किसानले खाल्डो खनेर पुरेको भेटेपछि प्रहरीलाई खबर गरेका थिए। एसपी जिसीका अनुसार शवको अवस्था हेर्दा १०–१५ दिनअघिको घटना जस्तो देखिएको छ।

बिहीबार मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा दुईवटा शव खाल्डोमा खनेर गाडेको अवस्थामा भेटिएको थियो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार दुवै शवको हत्या एक हप्ता अघिपछि गरिएको देखिएको छ। रंगेली–विराटनगर सडकको रामचोक खण्डको दक्षिणमा पर्ने कमलपुर र हनुमान चोकको बीचमा रहेको उखुबारीमा शव फेला परेको हो।

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ। एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ। उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थमा उनीहरुको शव भेटिएको हो। उनीहरु दुवैजनाको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ।

उनीहरुको अन्यत्र हत्यापछि उखुबारीमा ल्याएर शव गाडिएको प्रहरीले निष्कर्ष निकालेको छ। दुवै शवको घाँटीमा डोरीले बाँधेको डाम देखिएको तथा हात बाँधिएको अवस्थामा खाडलभित्र शव भेटिएकोले उनीहरुको अन्यत्र हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दुवै शवको प्रकृति हेर्दा घटनास्थल उखुबारी आसपासमा क्षेत्र नदेखिएको बताए। उनका अनुसार दुवै शव गाडिएको खाल्डोको प्रकृति र शव राख्ने तरिका एउटै थियो।

शव उत्खननपछि संघीय प्रहरी कार्यालयले ट्याकर डग (तालिमप्राप्त कुकुर)को परिचालन गरी घटनाको अनुसन्धान गरिरहेको छ। दुवै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। घटनास्थलमा एसपी जिसी, डिएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का पनि जुटेर अनुसन्धान गरिरहेका छन्।

बस्तीबाट नजिकै उनीहरुको शव भेटिएसँगै स्थानीय गाउँलेहरु त्रसित भएका छन्।

प्रतिक्रिया