आहा ! रारा गोल्डकपः पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा


पोखरा – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे। तर, विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे ।  दिपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।

मनाङले उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी  प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।

प्रतिक्रिया