यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलिया प्रवेश रोक्न निर्देशन


काठमाडौं  – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयको अनुगमन गरेका छन् ।

आज (बिहिबार) ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयभित्र बिचौलियाको प्रवेश रोक्न कमृचारीलाई निर्देशन दिएका हुन् । उनले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभइ कानूनि कामलाई पनि अघि बढाएर लैजाने बताए ।

मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । अहिलेको अवस्था हाम्रो काम गर्ने शैलीहरु हिजोकै पुराना छन् । ढड्डा राख्ने पुरानै तरिकाहरु छन् । हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौं । ठूला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन । त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु पनि मुख्य समस्याको रुपमा रहेको छ । त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौं ।’

बिचौलियाहरूले यातायातको कामलाई बदनाम गराइरहेको भन्दै मन्त्री दाहालले त्यस्ता मान्छे छिर्न नदिन कर्मचारीलाई निर्देशन दिए । बिचौलियाहरूलाई रोक्नको लागि हामीले कार्यालयलाई पनि कडा निर्देशन गरेका छौँ ।

उनले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइमा देखिएको समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया