मेडिकल कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ता हुने


काठमाडौं – काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने भएका छन्। काठमाडौं विश्वविद्यालय र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच ती दुई कलेजले लिएको अतिरिक्त शुल्क विद्यार्थीकै नाममा फिर्ता गर्ने सहमति भएको हो।

यो सहमतिसँगै विद्यार्थी संगठनहरुले गरिरहेको आन्दोलन फिर्ता लिएको माधव नेपालनिकट अनेरास्ववियूकी नेत्री केशरी रेग्मीले जानकारी दिइन्। ‘काठमाडौं विश्वविद्यालय र विद्यार्थी संगठनहरुबीच तीन बुँदे सहमति भएको छ। सहमति अनुसार होस्टेललाई ऐच्छिक गर्ने, कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने र ८० प्रतिशत हाजिरी नभइ परीक्षा दिन नपाउने व्यवस्था हालको समस्या समाधान नहुँदासम्म कार्यान्वयन नगर्ने सहमति भएको हो’ उनले भनिन्, ‘त्यही सहमति अनुसार भोलि (बुधबार) काठमाडौं विश्वविद्यालयले विज्ञप्ति प्रकाशित गर्ने छ र हामीले तत्कालका लागि आन्दोलन फिर्ता लिएका छौँ।’

यसैबीच आन्दोलनरत विद्यार्थी संगठनहरुले संयुक्त प्रेस वक्तव्य जारी गरी आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालय प्रशासनबीच पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डीनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित विद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन–पाठन लगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निःशर्त कक्षामा सामेल गराउने निर्णय भएको जनाएका छन्।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी) का हरिकृष्ण गजुरेल, नेत्रविक्रम चन्द विप्लवनिकट विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा जारी विज्ञप्तिमा भएका निर्णय र सहमति कार्यन्वयन नभएको अवस्थामा पुनः सशक्त आन्दोलन अगाडि बढाउने चेतावनी दिइएको छ।

साथै, विद्यार्थी संगठनहरुले आन्दोलनका क्रममा गिरफ्तार विद्यार्थी नेताहरुको तत्काल रिहाइको माग गरेका छन्।

प्रतिक्रिया