खत्रीठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नती सुरु


लमजुङ – लमजुङको सुन्दरबजार र मध्यनेपाल अन्तर्गतको खत्रिठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतीकार्य सुरु भएको छ ।सुन्दरबजार–२, हाँडेटारदेखि मध्यनेपाल–१, निवुवाटार सम्मकरिव ११ किलोमिटर सडक दुई वर्ष भित्रकालोपत्रे हुने गरी स्तरोन्नतीको काम सुरु भएको हो ।

सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरिले बताए । उनका अनुसार कालोपत्रे गर्ने काम आगामी दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नती शुरु भएको छ ।

सडक स्तरोन्नती गर्नका लागि प्रदेश सरकारले बहुबर्षिय योजना अन्तर्गत बजेट विनियोजन गरेको थियो । काठमाडाैंस्थित महाविर प्रधान जेभीले सडक निर्माणको जिम्मा पाएको छ । करिव २८ करोड रुपैया लागतमा २०८० को असोज महिनाभित्र सम्पुर्ण काम सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालय प्रमूख गिरीले बताए ।

पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटार देखि निबुवाटारी सम्मको १० दशमलव ८० किलोमिटर मध्ये तिन किलोमिटर सडक ढलान गरिने छ । सुन्दरवजार नगरपालिका अन्तर्गत कुन्छाको दुईतर्फी भिरालो तिनकिलोमिटर सडकमा ढलान हुने भएको हो ।

एक दशक अघि सञ्चालित ड्रिलिप परियोजनाबाट बनेको सडक मध्यनेपालको दुईपिप्ले देखि जिताटारसम्म यसअघिनै कालोपत्रे भईसकेको छ भने यता सुन्दरवजारको परेवाडाँडा अन्तर्गत करिव १ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

सडक पहुँच सहज नहुँदा दक्षिण पश्चिम लमजुङका नागरिकलाई सदरमुकाम आउननिकै सास्ती भएको थियो । हिँउदको समयमा कच्ची सडकको धुलो र बर्षातको समयमा हिलाम्मे हुँदा यात्रुसँगै स्थानीयले पनि सास्ती ब्यहोर्दै आएका थिए ।

प्रतिक्रिया