साहसिक पर्यटनको केन्द्र पोखरामा थपियो ‘जायन्ट स्विङ’


पाेखरा – प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी पोखरामा पछिल्लो समय साहसिक खेलका विविध विधा थपिएका छन्। हिमश्रृखङ्ला, ताल तलैया तथा मिलेको बस्तीले सजिएको पोखरामा पछिल्लो समय साहसिक खेलका गतिविधि थपिँदै गएका छन्।

पोखरामा प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, राफ्टिङलगायत उपलब्ध रहेको शहर पोखरामा पछिल्लो समय ‘जायन्ट स्विङ’ पनि थपिएको छ।

पोखरा महानगरपालिका–२५ हेम्जामा सन् २०१२ मा साहसिक खेल भित्र्याएको हाइग्राउण्ड एडभेन्चर्सले पछिल्लो पटक रु दुई करोड लगानीमा जायन्ट स्विङ भित्र्याएको हो। एकैपटक तीन जना खेल्न मिल्ने यस स्विङ नेपालमै पहिलो भएको प्रालिका प्रबन्ध निर्देशक दिनेश महर्जनले जानकारी दिए। तीन मिनेटमा खेल्न मिल्ने यो स्विङ (पिङ) जमिनबाट १०० मिटरमाथि पुगेर छोडिन्छ। सुरक्षा उपकरणको प्रयोगसहित खेलिने यसमा साहसिक खेलप्रति रुची राख्ने १० वर्षभन्दा माथिको उमेरकाले मज्जा लिन सक्नेछन्।

प्रालिले यसअघि सन् २०१२ मा पहिलोपटक ‘वल्र्ड क्लास जिपलाइन’ भित्र्याएको थियो। त्यसको डेढ वर्षपछि बञ्जी जम्प सञ्चालनमा ल्याएको कम्पनीले अहिले जायन्ट स्विङलाई साहसिक खेलको गतिविधिमा समेटेको हो।

‘मानिसको रुचि सधैँ एकैनास हुँदैन साहिसक खेलप्रेमीहरु झन् ‘भेराइटी एक्टिभिटि’ मा रुचि राख्ने भएकाले त्यसैलाई मध्यनजर गरेर जाइन्ट स्वीङ सञ्चालनमा ल्याएका हौँ’ महर्जनले भने।

उनका अनुसार साहसिक खेलका लागि चार युवाले रु २५ करोड बढी लगानी गरेका छन्। यस कम्पनीले केही समयपछि अर्को एड्भेन्चरको रुपमा ‘एटीभी बाइक’ पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसपछि यी सबै साहसिक खेललाई प्याकेजमै खेल्न चाहानले १० हजार शुल्क तिर्नुपर्ने हुन्छ।

प्राकृतिक सुन्दर एवं अनुकूल मौसमका कारण सबैको रोजाइको शहर बनेको पोखरामा साहसिक गतिविधि थपिँदै जानु सकारात्मक भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन्।

कोरोनापछि मानिसले शारीरिक र मानसिक स्फूर्तिका गतिविधि खोज्ने थालेकाले अब नयाँ पर्यटकीय गतिविधि आवश्यक हुँदै गएको उनको भनाइ छ। पोखरामा पर्यटकले मनोरञ्जनका लागि गर्ने साइकलिङ्, बोटिङ, घोडा सवारी, जलयात्रा (र्‍याफ्टिङ) तथा कायाकिङले पनि यस क्षेत्र साहासिक खेलको मुख्य गन्तब्य बन्दै गएको छ।

पोखरामा सन् १९९६ मा एभिया क्ललले अल्टालाइट भित्र्याएको हो। पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ। पोखरा १७ रातो पैह्रोमा बन्जी नेपाल एडभेन्चरर्स प्रालिले रु आठ करोडको लगानीमा बन्जीजम्प सञ्चालन गरेको छ। पोखरामा सन २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु भएको हो। पोखरामा विरु बमजमले सन् १९९६ मा बेलायतका नागरिक एडम हिललाई नेपाल ल्याएर प्याराग्लाइडिङ्गको शुरुआत गरेका थिए। पोखरामा ६० वटा प्याराग्लाइडिङ्ग कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया