‘महाराजगञ्जको प्रहरी तालिम केन्द्र अहिलेकै अवस्थामा रहन्छ’


काठमाडौं – २९ माघ २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएपछि गिरफ्तार भएकी रामकुमारी झाँक्री यतिबेला सहरी विकास मन्त्री छिन्।

उनले त्यतिबेला राष्ट्रपति भण्डारीलाई बालकोट जान भनेकी थिइन्। सेतो साडीमा राजनीति गरेको आरोप लगाएकी थिइन्। सोहीकारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा झाँक्रीलाई पक्राउ गरिएको थियो।

राष्ट्रपति भण्डारीविरुद्ध असन्तुष्ट रहेकी मन्त्री झाँक्रीले राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी नभएको बताएकी छन्।महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)लाई अहिलेकै अवस्थामा रहन दिनुपर्ने झाँक्रीको भनाइ छ।

मन्त्री झाँक्रीले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको भावना जोडिएकाले त्यहाँ अन्य संरचना नबन्ने बताएकी हुन्। २०७५ भदौमा तत्कालीन ओली नेतृत्वको सरकारले प्रहरी तालिम केन्द्रलाई १८ महिनाभित्र काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो।

तालिम केन्द्रको जग्गालाई राष्ट्रपति कार्यालले प्रयोग गर्ने भनिएको थियो। त्यही भएर झाँक्रीले राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी नरहेको र आवश्यक परेको बेलामा पार्किङ गर्न तालिम केन्द्र प्रयोग गर्न सकिने बताइन्।

उनले काभ्रेमा तालिम केन्द्र बनिसकेपछि पनि दुबैतिर काम हुने स्पष्ट पार्दै भनिन्, ‘प्रहरी तालिम केन्द्रमा पुराना प्रहरी अधिकृतको स्वामित्व जोडिएको छ। कतिपय अधिकृतले निजी जग्गासमेत दिएको हुनाले त्यसलाई त्यही रूपमा संरक्षण गर्नुपर्छ।’

ओली सरकारको निर्णयप्रति बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीहरू नै असन्तुष्ट छन्। उनीहरूले तालिम केन्द्रसँग प्रहरीको भावनात्मक सम्बन्ध रहेको र कतिपय तालिम काठमाडौंबाहिर असम्भव रहेको भन्दै तालिम केन्द्र नहटाउन लबिङ गर्दै आएका छन्।

प्रतिक्रिया