धादिङमा डोजरसँगै पुरिएका अझै भेटिएनन्, खोजीकार्यमा ३६ सुरक्षाकर्मी परिचालन


काठमाडौं – धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लिङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनाको अवस्था अझै अज्ञात छ।

बिहिबार विहान डोजरसँगै चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका हुन्। उनीहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

नेपाली सेनाको मेजरको कमाण्डमा २० जना, सशस्त्र प्रहरीको इन्स्पेक्टरको कमाण्डमा ११ जना र नेपाल प्रहरीका ५ जना सुरक्षाकर्मी घटनास्थलमा खोजी कार्यमा जुटेका छन्।

बिहीबार पहिरोको केही भाग पन्छाएको र शुक्रबार पनि खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) राकेश सिंहले जानकारी दिए।

पहिरोका कारण बाटो बनाउँदै गरेको ठाउँबाट डोजर करिब १ सय मिटर तल झरेको छ। बेपत्ताहरू डोजरसँगै पुरिएका छन् वा अन्यत्र पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन।

धादिङ प्रहरीका अनुसार पुरिएको बा २ क ४८२१ नम्बरको डोजर देखिएको छ। अहिले डोजर वरपरका रुख काट्ने र ढुंगा पन्छाउने काम भइरहेको छ।

प्रतिक्रिया