देशका ७५ जिल्लामा फैलियो कोरोना, काठमाडौंमा मात्रै संक्रमितको संख्या चार हजार बढी


काठमाडौँ – नेपालमा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेको छ। विज्ञहरुले यसलाई नेपालमा कोरोनाको तेस्रो लहरको रुपमा व्याख्या गरेका छन्। पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बरले बढेको छ। एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन्।

सोमबारसम्म देशका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। मनाङ र मुस्ताङ बाहेक देशका सबै जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। यसबीचमा संक्रमणको कारण दुई जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ को परीक्षण गरिएको थियो। ८ हजार ९ सय ६५ पीसीआर परीक्षणमा १ हजार तीन सय ५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४ सय ६४ एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या र संक्रमणदर पनि बढ्दै गएको तथ्यांकले देखाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पुस १९ गते संक्रमणदर २।६ प्रतिशत मात्रै थियो। हिजो अर्थात् पुस २६ गते त्यो दर १२।७ प्रतिशत पुगेको छ। पुस १९ गते १२ हजार ४९८ नमूना परीक्षण गर्दा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो। गएको आइतबार १२ हजार ६ सय ३२ जनाको परीक्षणमा १ हजार २ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ पुगेको जनाएको छ।काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ। काठमाडौं जिल्लामा सबैभन्दा धेरै २ हजार ६५५ जना सक्रिय संक्रमित छन्।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर तीव्र बनेको पाइएको छ।

कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १।०४ को दरमा बढिरहेको छ। आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझ्न सकिने विज्ञहरु बताउँछन्।

आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । विज्ञहरुले आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसँग पनि जोडेर हेर्न थालेका छन्।

प्रतिक्रिया