सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृहकाे सर्कुलर


काठमाडाैँ – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न  निर्देशनसहितको सर्कुलर जारी गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए। गृहमन्त्रालयमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा खाँणले यो जानकारी दिएका हुन्।

गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौविसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको भन्दै उनले असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे।

राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने उनको सुझाब थियो। ‘नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी तयार हुनुपर्छ,’ उनले भने।

कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा बताए। अहिले दुई घण्टा लाग्दै आएको कामलार्ई डेढ घण्टा र छ घण्टा लाग्दै आएको कामलार्ई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ गृहमन्त्रीले कर्मचारीको ध्यानाकर्षण गराएका छन्।

मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभइ सबै एकै परिवारका सदस्य जसरी काम गर्न पनि उनले निर्देशन दिए।

प्रतिक्रिया