

एकैदिन प्रतितोला ७०० रुपैँयाले घट्यो सुनको भाउ

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुन चाँदी भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (बिहीबार) ५०० रुपैँयाले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

