नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग


काठमाडौं – विवेकशील साझा पार्टीले नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न माग गरेको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यसका साथै हरेक सरकारी कार्यालयमा उनको तस्वीर राख्न निर्देशन दिन पनि माग गरेको हो।

२७ पुसमा पृथ्वीनारायण शाहको जन्म जयन्ती हो। नेपाल एकीकरणको नेतृत्व गरेका कारण उक्त दिन राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन पनि विवेकशील साझाको माग छ।

‘संसारका अधिकांश देशमा निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ, जुन स्थायी हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुन सक्छ भन्ने हाम्रो धारणा हो।’

संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने हुँदा तिनै सामान्य विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने साझा पार्टीको भनाइ छ।

अनावश्यक रूपमा अनेकौं बिदा दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु खेदजनक भएको साझाले जनाएको छ।

यस्तो छ प्रेस विज्ञप्ति:
राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऊँ

अर्को साता नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आउँदै छ। सो सन्दर्भ पारेर विवेकशील साझा पार्टी नेपाल सरकारसँग निम्न मागहरू गर्दछ:

१) पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस (Nepal Day)’ का रूपमा मनाइयोस्। संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो।

२) संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।

३) राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्‍याउँछौ। अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।
४। त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौँ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ। उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ। उक्त यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि सम्पूर्ण नेपालीहरूमा विवेकशील साझा पार्टी हार्दिक अपिल गर्दछ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: २० पुष २०७८

प्रतिक्रिया