
हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास
एजेन्सी – हाइटीका प्रधानमन्त्री एरियल हेनरीको हत्याको प्रयास भएको छ। हाइटकिा अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मुलुकको स्वतन्त्रताको वार्षिक समारोहमा सम्बोधन गर्ने क्रममा उनको हत्याको प्रयास भएको हो।
बीबीसीका अनुसार एरियल हेनरी हाइटीको उत्तरी सहर गोनाइभ्समा स्वतन्त्रता दिवसको वार्षिक अवसरमा सम्बोधनका लागि पुगेका थिए। सोही क्रममा उनको हत्याको प्रयास भएको हो।
अनलाइनमा सार्वजनिक गरिएको एक भिडियोमा हेनरी र उनका सुरक्षाकर्मीहरु गोलीको वर्षा भइरहेको समयमा कारतर्फ दौडिरहेको देख्न सकिन्छ। गत जुलाईमा हाइटीका राष्ट्रपति जोभेनेल मोइसोको हत्या भएको थियो। त्यसयता हाइटीको सुरक्षा व्यवस्था निकै कमजोर बनेको छ।
प्रधानमन्त्री कार्यालयले हत्याको प्रयास आतंककारी तथा संगठित अपराधका नाइकेको समूहले गरेको बताएको छ। आरोपीहरुलाई पक्राउ पुर्जी जारी गरिएको समाचारमा उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रधानमन्त्रीको हत्याको प्रयास हुँदा हतियारधारी र सुरक्षाकर्मीबीच गोली चल्दा १ जनाको मृत्यु भएको छ। राष्ट्रपति मोइसेको हत्या भएको दुई सातापछि हेनरी हाइटीको प्रधानमन्त्री बनेका थिए।
हिंसा र आर्थिक संकटको सामना गरिरहेको हाइटीमा पछिल्लो केही वर्षमा देखिएको ठूलो विपत्तिले अवस्था झन् खराब बनेको छ।



कागजपत्र |
