पाँच वर्षयताकै कम फल्यो धान


काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आर्थिक वर्षमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो। चालु आर्थिक वर्षमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो। गत आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आर्थिक वर्ष २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए।

सञ्जेलका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्‍याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो। यस वर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति उत्पादन ?

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ। उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो। गत आर्थिक वर्षको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ।

यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश १ मा ०.९३ प्रतिशत, प्रदेश २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०।३५ प्रतिशत र कर्णालीमा ८।७६ प्रतिशतले उत्पादनमा कमी आएको छ। प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आर्थिक वर्षको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेशमा मात्र २।३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो।

प्रतिक्रिया