लकडाउनमा प्रेमिका भेट्दा एक महिना जेल


लण्डन(एजेन्सी)– ब्रिटेनमा एक युवाले आफ्नो प्रेमिका भेट्दा एक महिना जेल सजाय व्यहोर्नु परेको छ । प्रहरीले ती युवालाई कोरोना भाइरसको रोकथामको लागि लागू गरिएको नियमको उल्लंघनको आरोपमा पक्राउ गरेर जेल पठाएको छ । २८ वर्षीया युवाले आफ्नो प्रेमिकालाई भेट्नका लागि जेट स्कीको प्रयोग गरेर समुन्द्रको बाटो हुँदै प्रेमिकाको घर पुगेका थिए । तर लकडाउन तोडेको आरोपमा प्रहरीले उसलाई पक्राउ गरेको हो ।

समाचार अनुसार डेल मेक्लाघनले गत शुक्रबार स्कटल्याण्डको व्हिटर्नबाट आइल अफ मेनको यात्रा एक जेट स्कीको माध्यमबाट पार गरेका थिए । यो ४० किलोमिटरको आइरिस सागरको यात्रा पार गर्न उनलाई झन्डै साढे चार घण्टाको समय लागेको थियो । डेलको यो नै पहिलो जेट स्कीको यात्रा थियो । उनले आफ्नो प्रयास सफल हुने र केही समय प्रेमिकासँग बिताउन पाउने सोचाई थियो । तर प्रहरीले उनको चाहना पुरा हुन दिएन । कोरोना संक्रमणको दर बढ्दै गएपछि ब्रिटेनको कैयौं इलाकामा लकडाउन लागु गरिएको छ ।

शुरुवातमा डेललाई ४० किलोमिटरको यात्रा पार गर्न ४० मिनेट भन्दा बढी समय लाग्दैन जस्तो लागेको थियो । तर यात्रा शुरु गरेपछि मात्र यो निकै लामो हुनेछ भन्ने उनलाई महशुस भयो । समुन्द्रको किनारमा पुगेपछि डेललाई प्रेमिका जेसिका रेडक्लिफको घर पुग्न झन्डै २५ किलोमिटरको पैदल यात्रा गर्नुपर्यो ।

यात्राका क्रममा डेलको जेट स्कीमा पेट्रोल सकिन लागेको थियो । तर त्यो भन्दा अघि नै उनी आइल अफ मेन पुगे । डेलको प्रेमिकासँगको पहिलो भेट पनि यही द्विपमा भएको थियो । त्यहीकारण उनले प्रेमिकालाई यही द्विपमा भेट्नका लागि स्थानीय प्रहरीलाई अनुमति मागेका थिए । तर लकडाउनका कारण प्रहरीले अनुमति दिएन । त्यसपछि उनले जेट स्कीका माध्यमबाट प्रेमिका भेट्ने निर्णय लिए ।

प्रतिक्रिया