
बाघ गणनामा प्रयोग भएको ट्रयापिङ क्यामेरा चोरी
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा बाघ गणनाका लागी राखिएको एक थान ट्रयापिङ क्यामेरा चोरी भएको छ ।
चोरी गर्ने मानिसलाई पक्राउ गर्न सजिलो होस् भन्दै ठाउँको नाम उल्लेख गर्न नमिल्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । क्यामेरा चोर पत्ता लगाउन स्काई क्यामेरा प्रयोग गरिएको उनले जनाए ।
निकुञ्ज र आसपास बाँके र बर्दियामा एकै साथ बाघ गणना भइरहेको छ । बाघ गणनामा सात सय वटा ग्रीडमा ७ सय २० वटा स्वचालित क्यामेरा राखिएको छ । एउटा ग्रीडमा कम्तिमा १५ देखि २१ दिन सम्म क्यामेरा ट्रयाप राखिएको छ ।
बाघ गणना निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र आसपासका जंगलमा भइरहेको छ । ९ सय ६८ वर्ग किमी क्षेत्रफल रहेको बर्दिया निकुञ्जको चुरे पहाडको बबई उपत्यकामा बाघको बासस्थान बन्दै गएको छ । यसअघि चितवनमा भएको गणनामा प्रयोग भएका ५ थान क्यामेरा चोरी भएका थिए ।



कागजपत्र |
