
मकवानपुरको भीमफेदीमा स्कार्पियो दुर्घटना, एक जनाको मृत्यु, ५ जना घाइते
काठमाडौं – मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् ।
उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप आज मंगलबार बिहान करिब ७ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो ।
दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, ५७ वर्षकै रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र र ३१ वर्षीया रिता घाइते भएका थिए । दाङको राप्ती नगरपालिका-८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।
मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहे पनि बडु परिवारका सदस्यहरुलाई सेनाको हेलिकप्टरबाट छाउनी अस्पताल ल्याइएको थियो ।
बिहान करिब सवा १० बजे छाउनी अस्पताल ल्याइएकोमा चिकित्सकले करिब साढे १० बजे लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।



कागजपत्र |
