
प्रधानमन्त्रीसँग भदौ १० गते संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौँ – प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको भदौ १० गते बस्ने बैठकमा हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम मिति भदौ १० गतेलाई तय भएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार सभामुखले भदौ १० को समय तोकेका हुन् ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने पनि सभामुखले जानकारी दिए । बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढीमा १५ प्रश्न सोध्न सकिने बताए ।
उनले प्रश्नकर्ता सांसदलाई भदौ ५ गते शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाका सचिवलाई लिखित रूपमा बुझाउन सकिने उनको भनाइ छ। प्रश्नकर्तालाई धेरै लामो नभएर संक्षिप्त प्रश्न दिन ध्यानाकर्षण गराए । आजैको प्रतिनिधिसभा बैठकबाट उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ । त्यो व्यवस्था लागु गर्न बारम्बार प्रतिपक्षी सांसदले आवाज उठाए पनि सम्भव भएको थिएन । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा माग गरेको जवाफ दिन रुलिङ गरेका थिए ।



कागजपत्र |
