आफूले आफूलाई अध्यक्ष घोषणा गरेर महाधिवेशन टुंग्याउने तयारीमा प्रचण्ड !


काठमाडौं- गत आइतबार काठमाडौंमा सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन धेरै हिसाबले औपचारिकता जस्तो मात्र देखिए पनि एउटा विषयले भने अर्थपूर्ण थियो। त्यो के भने पछिल्लो साढे तीन दशकदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकछत्र नेतृत्वमा चल्दै आएको पार्टी पहिलो पटक बहुपदीय अभ्यासमा जाँदै थियो। त्यसकै लागि माओवादीले विधानमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवलगायतका १५ जना पदाधिकारीको व्यवस्था गरेको थियो।

महाधिवेशनबाट हुने नेतृत्व चयनको कौतुहल पनि यसमै केन्द्रित थियो। अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चित थियो, पदाधिकारीमा को आउलान् भन्ने खुल्दुली मात्र बाँकी थियो। त्यसमा पनि आफूपछिको शक्तिशाली पद महासचिवका लागि प्रचण्डको भरथेग कसलाई होला र महासचिवमा कसले बाजी मार्ला भन्ने विषय सबभन्दा धेरै चासोसाथ हेरिएको थियो।

माओवादीको महाधिवेशन यही चासो सम्बोधन नगरेरै सम्पन्न हुने तरखरमा लागेको छ। खासगरी महासचिव बन्न चाहने नेताहरुबीचको तीव्र प्रतिस्पर्धाकै कारण महाधिवेशनले बाँकी पदाधिकारी पनि टुंगो नलगाउने तयारी भएको हो। अध्यक्ष प्रचण्डनिकट एक नेताका अनुसार महाधिवेशनले अब केन्द्रीय समिति र अध्यक्ष मात्र टुंगो लगाउने सम्भावना ज्यादा छ।

 

प्रतिक्रिया