आलमको मुद्दा न्यायाधीशद्वय कार्की र ढुङ्गानाको संयुक्त इजलासमा


काठमाडौं – पूर्वमन्त्री तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा परेको छ ।

थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा दिएको रिट निवेदन शुक्रबार न्यायाधीशद्वय कार्की र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो ।

यसअघि आलमको मुद्दा १७ पटक पेसी तारेखमा परे पनि हालसम्म पनि सुनुवाइ भएको छैन । आलमको मुद्दा ७ पटक स्थगित भएको छ भने ३ पटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ । त्यसैगरी एकपटक हेर्न नभ्याइने सूचीमा परेको छ भने दुईपटक बेञ्च नै नबसी सकिएको छ ।

विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्चमा आइपुगेको आलमको निवेदन थुनछेक आदेश प्रयोजनका लागि मात्रै हो । विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन अवस्थामै रहेको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।

आलममाथि स्थानीय युवाहरु त्रिलोकप्रताप सिंह र ओशी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विस्फोटन गराई घाइते गराएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा थप १० वर्ष गरी कुल ४५ वर्ष कैद सजायको मागदावी गर्दै आरोपपत्र दायर गरिएको थियो ।

२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचनका अघिल्लो दिन साँझ रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । उक्त बम विस्फोट घटनामा कम्तीमा ९ जनाको ज्यान गएको दाबी गरिएको छ ।

प्रतिक्रिया