टाउको नखोलेरै नेपालमै गरियो मस्तिष्कघातको शल्यक्रिया


काठमाडौँ । नेपालमा मस्तिष्काघात (स्ट्रोक)को शल्यक्रिया गर्दा टाउको खोलेरमात्र हुने गरेकोमा अब टाउको नखोली गर्ने प्रविधि प्रभावकारी देखिएको छ । टाउको खोलेर शल्यक्रिया गर्दा ५० देखि ६० प्रतिशतसम्म मात्र सफलता हुने गरेकोमा टाउको नखोली न्युरोसम्बन्धी शल्यक्रिया गर्दा ९७ प्रतिशत सफलता मिल्ने बताइएको छ ।

टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्दा बिरामी मस्तिष्काघात भएको सात घण्टामा अस्पताल पुर्याइसक्नुपर्छ । समयमै अस्पताल पुर्याउन सकेको अवस्थामा बिरामी सकुशल डिस्चार्ज गर्न सकिन्छ । तर, समयभन्दा पछि अस्पताल लगेमा टाउको नखोली गरिने शल्यक्रिया फलदायी नहुन सक्छ । टाउको नखोली मस्तिष्काघातको शल्यक्रिया गर्ने प्रविधिलाई न्युरो इन्टरभेन्सन प्रविधि भनिन्छ ।

नेपालमा न्युरो इन्टरभेन्सनका एकमात्र शल्य चिकित्सक डा। सुवास फुँयालले नेपालमा न्युरो इन्टरभेन्सन प्रविधि सफलतामा गएको बताए । नयाँ आएको उक्त प्रविधि ९७ प्रतिशतसम्म सफलता मिल्ने भन्दै उनले टाउको खोलेर गरिने मस्तिष्काघातको शल्यक्रियामा बिरामीलाई पहिलेकै अवस्थामा ल्याउन सक्ने अवस्था ५०/५० मात्र रहेको बताए ।

डा। फुँयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्समा उक्त प्रविधिबाट आफूले तीन सयभन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिए। उनले हालसम्म आफूले शल्यक्रिया गरेकामध्ये तीन जनालाई मात्र बचाउन नसकेको भन्दै अरू व्यक्ति पूर्ण ठीक भएर डिस्चार्ज भएको बताए ।

न्युरो इन्टरभेन्सन प्रविधि

डा। फुँयालका अनुसार न्युरो इन्टरभेन्सन प्रविधिमा मस्तिष्काघात भएका बिरामीलाई खुट्टाको नसाबाट पठाइने तारसहितको यन्त्रले शल्यक्रिया गरिन्छ । उनले टाउकोमा जहाँ नसा फुटेर रगत जमेको हुन्छ, त्यहाँ क्वालिङ गरेर टालिदिने प्रविधि नै न्युरो इन्टरभेन्सन भएको बताए ।

यसले जमेको रगतका थेग्रा झिकिदिन्छ र बन्द भएको नसामा पुनः रगत बहन थाल्छ । रगत बहन थालेपछि मस्तिष्कले पुनः काम गर्न थाल्छ । उनले मस्तिष्काघात भएका व्यक्ति सयौँ जना पक्षाघात भएर बस्नुपरेको भन्दै न्युरो इन्टरभेन्सनमा भने कुनै पनि व्यक्ति पक्षघात प्यारालाइसिस हुन नपर्ने बताए ।

न्युरो अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले न्युरो उपचार क्षेत्रमा नयाँ प्रविधि भित्रिएको भन्दै न्युरो इन्टरभेन्सन प्रविधिबाट शल्यक्रिया गराउँदा मानिस पूर्ण रूपमा ठीक हुने र आफ्नो पुरानो काममा फर्किने बताए ।

प्रतिक्रिया