सेन्ट्रल जोन भलिबलकाे उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै


काठमाडाैँ । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिला तर्फको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त बिहान ११ : १५ बजे सुरु हुनेछ ।

साविक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ ।यस अघिको खेलमा साविक विजेता नेपालले किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको थियो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया