पार्टीमा खराब काम गर्ने प्रवृत्ति बढ्यो : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको बताएका छन् ।

आठौं महाधिवेशनको सोमबारबाट सुरु भएको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले व्यक्तिवाद हाबी हुँदै जाँदा क्रान्तिकारी रुपान्तरण जटिल विषय बनेको निष्कर्ष निकालेका छन् । उनले भने, ‘व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै अनुचित कार्य गर्न पनि पछि नपर्ने प्रवृति हाबी हुँदै गएको छ’ उनले भने ‘यो स्थितिमा पार्टीको क्रान्तिकारी रुपान्तरणको प्रश्न सर्वाधिक महत्त्वको सर्वाधिक जटिल बन्दै गएको छ ।’

उनले पार्टीको रुपान्तरणको ठोस योजनाबिना अगाडि बढ्न सम्भव नभएको बताए । ‘कुरा क्रान्ति र व्यवहार प्रतिक्रान्तिको गर्ने भयानक विरोधाभाषको सिकार बन्दै जान थालेको कम्युनिस्ट आन्दोलनलाई सिद्धान्त र व्यवहारबीचको एकरुपताको आन्दोलनमा कहाँबाट र कसरी रुपान्तरण गर्ने ?’ उनको प्रश्न थियो, ‘समाजवादी क्रान्तिको विचारधारात्मक र राजनीतिक कार्यदिशा स्पष्ट भइसकेपछि संगठन संघर्ष र आचरणको प्रश्न मुख्य भएर आउँछ ।’

दाहालले ‘खुला र प्रतिस्पर्धाको राजनीतिमा निजी सम्पत्ति छाडेर सामूहिक जीवनपद्धति अँगाल्ने दिशातिर अग्रसर सांस्कृतिक नेता कार्यकर्ताको विकास गर्न सम्भव छ ?’ भनेर प्रश्न गरेका छन् ।

उनले यथास्थितिमा रहने खोज्ने शक्ति र समाजवादउन्मुख आर्थिक राजनीतिक नीति लिँदै समाजवादीको बाटोमा हिँड्ने शक्तिबीचमा अन्तरविरोध अपरिहार्य रहेको हुने बताएका छन् ।

प्रतिक्रिया