

प्रधानमन्त्रीज्यू, स्वैच्छिक मृत्युवरण गर्नेको पहिलो नम्बरमा मेरो नाम परोस् !

तनहुँ – १२ वर्षदेखि शारिरीक रुपमा अशक्त रहेका तनहुँका दीपक भण्डारीले इच्छामृत्युको कामना गरेका छन् । उनी २०६६ सालमा एक दुर्घटनामा परी शारिरीक रुपमा अशक्त भएका थिए ।
उनले विभिन्न मुलुकहरुले इच्छामृत्युको विधान पास गरिसकेको अवस्थामा नेपालमा पनि इच्छामृत्युलाई बैधानिकता दिई आफूले इच्छामृत्युको सुविधा लिन पाउनुपर्ने मागसहित प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् दीपकले प्रधानमन्त्री कार्यालय सिंहदरबारलाई गरेको सम्बोधनमा, ‘प्रत्यक्ष कुरागर्ने ब्यवस्था मिलाइयोस् । पिडितलाई ‘सेवा सुबिधा’ या ‘इच्छा मृत्यू’ भन्ने सम्बन्धमा ।’
भण्डारीले लेखेको हृदयविदारक निवेदनमा नेपाल सरकारले पनि स्वेच्छिक मृत्युवरणको व्यवस्था गर्नुपर्ने र सो सुविधाको पहिलो उपभोग आफूले गर्न पाउनुपर्ने दाबी समेत गरेका छन् ।
भण्डारीले पत्रमा आफूले राज्यप्रतिको दायित्व पूर्णपालन गरेको बताउँदै अहिलेसम्म पनि अपांगता नियमावलीको प्रावधानअनुसारको सुविधाबाट समेत बञ्चित रहेको बताउँदै एकमात्र विकल्प इच्छामृत्यु रोजेको बताएका छन् ।
भण्डारीले आफ्नो पीडा प्रधानमन्त्रीलाई प्रत्यक्ष भेटेर सुनाउनुका साथै शारिरीक अपांगता भएका व्यक्तिको पीडामा मल्हम लगाइदिनुपर्ने माग समेत राखेका छन् ।
उनले लेखेका छन्, ‘म तपाईंसँग म र म जस्ता कठिन परिस्थितिमा बाँच्न बाध्य पिडित व्यक्तिहरुको हितलाई ध्यानमा राखी आवश्यक सेवा सुबिधाको समुचित प्रवन्ध मिलाउने बिसयमा प्रत्यक्ष कुराकानी गरि सर्वमान्य समाधान निकाल्न चाहान्छु । यसको लागी यसै निवेदन मार्फत तपाईं माननीय प्रधानमन्त्री समक्ष हार्दिक अनुरोध गर्दछु ।
पक्कै पनि प्रधानमन्त्री ज्युले भेट्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा राखेको छु । आशा छ यस्तो गम्भीर बिसयमा प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण हुनेछ र वार्तागर्ने अवसर मिल्नेछ । साथै यो निवेदन प्रधानमन्त्री ज्यु समक्ष पुर्याउनको लागी मद्धत गरिदिनुहुनेछ भन्ने सबै मित्रहरूसँग आशा राखेकोछु ।’
उनले अन्तिममा लेखेका छन्, ‘यदि भेटमा भएको वार्तामा ‘इच्छा मृत्यु’को प्रावधान लागुगर्ने सहमती भएमा नेपालको इतिहासमा स्वैच्छिक मृत्युवरण गर्नेको लिष्टमा पहिलो नाम मेरो लेखिओस् भन्ने हृदयदेखि इच्छा व्यक्त गर्दछु ।’

