
बाँदरझुलावासीका माग सम्बोधन हुने, लालपूर्जा दिलाउन कानुन संशोधन गर्न सरकार तयार
काठमाडौं – चितवन माडीको बाँदरझुलावासीको समस्या सम्बोधन गर्न सरकार तयार भएको छ ।
मंगलबार चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो ।
बाँदरझुलावासीलाई तत्काल लालपूर्जा दिलाउनका लागि निकुञ्जसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार भएको हो । भूमि मन्त्रालय र वन मन्त्रालयले समझदारी गरी ऐन संशोधनको प्रस्ताव पेस गर्ने र पारित गराउने सहमति भएको हो । बाँदरझुलावासीसँगको छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल सहभागी थिए ।
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालका अनुसार तीन बुँदे सहमतिपत्रमा राष्ट्रिय भूमि आयोग र आन्दोलनकारीका प्रतिनिधिले हस्ताक्षर गरेर सार्वजनिक हुँदैछ ।
बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डल आएका थिए । राम मन्दिरको विकास र विस्तार भन्दै राज्य संयन्त्रले बजेट छुट्याइरहँदा आफूहरू भने दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको गुनासो सुनाउन उनीहरू राजधानी आएका हुन् ।



कागजपत्र |
