कांग्रेस सभामा राजसंस्था बोक्न प्रचार, महामन्त्री भन्छन्– हिन्दू राष्ट्रका लागि जनमत संग्रह


काठमाडौं– सरकारविरुद्ध नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा गरिरहेका कतिपय सभामा राजसंस्था पक्षधरका प्रचार सामग्री भेटिएका छन्। कांग्रेस संस्थापक मध्येका एक विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको तस्बिरसहित राजसंस्था र हिन्दूत्व नबोके कांग्रेसको औचित्य सकिने प्रचार सामग्रीमा उल्लेख छन्।

दिवंगत भएका कांग्रेस नेता खुमबहादुर खड्काको भनाई उल्लेख गर्दै कांग्रेसको सभामा छरिएका प्रचारमा भनिएको छ,‘हिन्दू राष्ट्र र राजालाई नबोके कांग्रेस सिद्धिन्छ।’

यसबीच राजसंस्थाका पक्षधरले निरन्तर प्रदर्शन गरिरहेका छन्। आइतबार ललितपुरमा विशाल जुलुस निकालेका राजावादीले राजसंस्था र हिन्दू राष्ट्र कायम गरिनुपर्ने चर्को नाराबाजी गरेका थिए।

देशभर रहेका राजावादी संघ संस्थाले कांग्रेसले आह्वान गरेको विरोध सभामा वीपी कोइरालाको भनाईलाई उदृत गरेका प्रचार सामग्री पनि छरेको पाइएको छ। ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भन्ने वीपीको भनाईका प्रचार सामग्री पोल पोलमा टाँसिएका छन्।

यसैबीच, सभा सम्बोधनका लागि बिराटनगर पुगेका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्रका पक्षमा जनमत संग्रह गर्नुपर्ने बताएका छन्। पत्रकार सम्मेलनका क्रममा उनले कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा उक्त जनमत संग्रह हुने दाबी गरे।

‘तत्कालका लागि राजतन्त्र नै आउँछ भन्ने मान्यतामा कांग्रेस छैन तर हिन्दू राष्ट्रका निम्ति जनमत संग्रह गराउन तयार छ’, कोइरालाले भने,‘धार्मिक सापेक्षता नै अबको कांग्रेस एजेन्डा हो।’

कोइरालाले हिन्दूत्वको पक्षमा सार्वजनिक फोरमहरूमा अभिव्यक्ति दिने गरेका छन्। कांग्रेसको महासमितिको बैठकमा पनि कोइरालाले हिन्दूत्वका पक्षमा आएको प्रस्तावमाथि बहस हुनुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया