
वायुसेवा सञ्चालकको नेतृत्वमा पुनः थापा चयन, सुरक्षा उचाइमा पुर्याउने प्रतिवद्दता
काठमाडौं – नेपाल वायुसेवा सञ्चालक संघको नेतृत्वमा पुनः क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघको अघिल्लो कार्यसमिति अध्यक्ष समेत रहेका थापालाई शुक्रबार बसेको २१ औं वार्षिक साधारणसभाले पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष थापा सिम्रिक एयरका सञ्चालक हुन् । संघको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल चयन भएका छन् । यस्तै, संघको द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमा नुरु शेर्पा चयन भएका छन् ।
संघको महासचिवमा समिट एयरका मनोज कार्की चयन भएका छन् भने सचिवमा मनाङ्ग एयरका राजु न्यौपाने चयन भएका छन् । कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन् । सम्पूर्ण निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
नयाँ कार्यसमिति चयनसँगै सभाले संघको वार्षिक प्रतिवेदन र भावी रणनीति पारित गरेको छ । नवनियुक्त अध्यक्ष क्या.थापाले संघको साधारणसभालाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई अझै उचाइमा पुर्याउने र नेपाली वायुसेवाको सूरक्षा सूदृढीकरणलाई बढी भन्दा बढी विश्वासिलो बनाउँदै जाने बताए ।
सोही अवसरमा थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने समेत बताए ।



कागजपत्र |
