सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट-दिक्तेल सिधा यातायात


उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट-दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् ।

मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका-५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका-१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान सुरु गरेर बिहीबार सम्पन्न भएको हो । औपचारिकरूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरु भएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले बताए । पचास मिटर लम्बाइ र ६.५ मिटर चौडाइको उक्त बेलीब्रिज जडान रेग्मी कन्स्ट्रक्शन निर्माण कम्पनी प्रालि गाईघाटले रु ७६ लाखको बजेटमा सम्पन गरेको सो कम्पनीका प्रोपराइटर महेश रेग्मीले बताए।

सुनकोशीमा बेलिब्रिज जडानसँगै छ महिनासम्म सिधा यातायात सेवा बन्द थियो । गाईघाट-दिक्तेल सडकअन्तर्गत प्रत्येक वर्ष हिउँदमा जडान गरिने र वर्षायाममा सुनकोसीको पानी बहाव बढेसँगै सुनकोसीको बेलिब्रिज छ महिनाका लागि खोलिने गरेको गाईघाट-दिक्तेल सडक कार्यालयले जनाएको छ ।

गत जेठमा खोलिएको उक्त बेलिब्रिज छ महिनापछि फेरि हिउँद लागेसँगै जडान गरिएको हो । सुनकोसीमा स्थायी पुल निर्माण सम्पन्न नहुँदा अस्थायीरूपमा यातायात सञ्चालन गर्न सुनकोसीमा छ महिना हिउँदमा बेलिब्रिज जडान गरिने र छ महिना बर्खामा खोलिने गरेको छ । वर्षमा ६ महिनासम्म गाईघाट-दिक्तेल सडकमा यातायात सञ्चालन बन्द हुँदा खोटाङ उदयपुरका पहाडी क्षेत्र जाने र पहाडी क्षेत्रबाट तराई झर्ने यात्रुहरूले दुःखकष्ट भोग्दै आउनुपरेको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।

प्रतिक्रिया