डोल्पाको शे–फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण


डोल्पा – डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको रिग्मो गाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो ताल छेउमै रहेको रिग्मो गाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् ।

डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोदिसतो बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपलब्ध गराएका हुन् । गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा पाएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताए ।

आँगनमै आएर सेवा दिनेलाई धन्यवाद दिँदै पहिलोपटक उपचार पाउँदा खुशीको सीमा नरहेको साङमु रोकायाको भनाइ छ । उनले भने, ‘गर्भवती हुँदा भिडियो एक्सरेका लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो, टाढा भएकाले कहिले गएका थिएनौँ ।’

तामाङका अनुसार ४० गर्भवती महिलाको भिडियो एक्सरे र ग्यास्ट्रिक, पाठेघर खसेका, घुँडा दुख्नेजस्ता रोगका बिरामी गरी एक सय ५० जनाको उपचार गरिएको छ । बोदिसतो बिहार, कान्छीमाया तामाङ फाउण्डेशनले करिब तीन लाख रुपैयाँको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । फोक्सुण्डोका गर्भवतीलाई अब दुनै आउनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया